मेरी श्रीमतीको योनि सुख्खा रहन्छ, किन होला ? केही समाधान छ भने बताइदिनुहोला ।

९९२५



उत्तेजना हुँदा रस कसरी आउँछ ?

यौन उत्तेजनाका बेला पुरुषको लिङ्ग र महिलाको योनिबाट रस आउँछ । पुरुषको हकमा यस्तो रस थोरै हुने भएकाले त्यसले यौनसम्पर्कलाई सहज बनाउन कुनै भूमिका खेल्दैन । यौनसम्पर्कलाई सहज बनाउने गरी योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना भएपछि पुरुषमा लिङ्ग उत्तेजत भएजस्तै महिलामा योनिरस आउन थाल्छ । यौन उत्तेजनाका बेला योनिरस आउनु स्वाभाविक योनिश्राव हो । यसरी यौन उत्तेजनाका बेला आउने योनिरसको प्रमुख उद्देश्य यौनसम्पर्कमा सहजता ल्याउनुका साथै त्यसलाई सुखमय बनाउनु हो । अत्यधिक योनिश्राव भएको स्थितिमा पनि यौन आनन्द प्राप्तिमा केही कमी आउन सक्छ ।



योनिरस कसरी आउँछ ?

योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्मयुक्त हुन्छ । त्यसैले स्वाभाविक स्थितिमा पनि यो एक किसिमले भिजेको अवस्थामा हुन्छ । भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरेर योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेला भने अत्यधिक रस आउँछ ।

यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनशाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनशाहरूमा रगतको बहाब बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थि भने हुँदैनन्, यसको भित्ता नै रसाएर आउँछ । सुरुमा उक्त रस योनिको भित्रै मात्र रहे पनि निकै रसाए योनिद्वारभन्दा बाहिर निस्कन्छ । योनिरसको मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ ।



योनि सुख्खा भए के समस्या होला ?

व्यक्तिले विभिन्न किसिमले यौन सुख प्राप्त गर्छ । मानिसहरू योनि–लिङ्ग सम्पर्क बाहेकका यौन क्रियाकलापमा पनि संलग्न हुन्छन् । योनि–लिङ्ग सम्पर्कको सन्दर्भमा वा योनिमा केही पसाएर हस्तमैथुन गर्दा योनिरस पर्याप्त रूपमा नआएर योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक हुन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु वास्तवमा त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासोको विषय हुन जान्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । यौनसम्पर्कका दौरान लिङ्गलाई योनिमा बाहिर–भित्र गराउँदा महिलालाई दुख्ने–पोल्ने हुन्छ भने पुरुषलाई पनि असजिलो हुन्छ । त्यसैले यौनसम्पर्क आनन्ददायक हुने कुरै भएन । यसरी विशेष गरेर योनि सुख्खा र पीडापूर्ण हुँदा यौनसम्पर्कबाट आफूलाई टाढै राख्न खोजिन्छ । यौनसम्पर्क आनन्ददायक हुनुपर्नेमा पीडायुक्त भयो भने यसमा पर्याप्त मात्रामा संलग्न नै भइँदैन । यौनसम्पर्कमा पर्याप्त रूपमा संलग्न नभएपछि यौनसुख प्राप्त हुने कुरै भएन ।



योनि किन सुख्खा हुन्छ ?

यौन सम्पर्कको समयमा योनि सुख्खा हुनु अर्थात् पर्याप्त मात्रामा योनिरस नआउनुका थुप्रै कारण हुन सक्छन् । पर्याप्त मात्रामा यौन उत्तेजना नहुनु योनिरस राम्रोसँग नआउनुको एउटा प्रमुख कारण हो । कतिपय पुरुषले महिलालाई आवश्यक रूपमा उत्तेजित नगराई लिङ्ग प्रवेशबाटै यौनसम्पर्क प्रारम्भ गर्छन् । त्यस्तो अवस्थामा पुरुष तथा महिला दुवैले एक किसिमले योनिको सुख्खापनको महसुस गर्छ । घर–परिवारमा भएका अन्य वा यौनसम्बन्धी तनाव अनि चिन्ताले पनि योनिमा सुख्खापन ल्याउन सक्छ । यस्ता चिन्ता वा तनावले यौनेच्छा नै नहुन सक्छ, जसले कुनै व्यक्ति उत्तेजित हुने कुरै भएन ।

शरीरमा हुने हार्मोनको मात्रामा आएको परिवर्तनले पनि योनि सुख्खा हुने समस्या देखापर्न सक्छ । त्यसबाहेक एलर्जीका लागि प्रयोग गरिने एन्टीहिस्टामिन औषधीको प्रयोगले पनि योनिमा सुख्खापन ल्याउन सक्छ । मधुमेह (त्यसमा पनि निदान भैनसकेका) ले एक हदसम्म योनिरसमा कमी ल्याउन सक्छ । विभिन्न किसिमको रसायनसँगको एलर्जीले पनि योनिमा सुख्खापन ल्याउन सक्छ । उदाहरणका लागि, महिलाले प्रयोग गर्ने साबुन वा त्यसमा प्रयोग भएका सुगन्ध वा यौन अंङ्ग वा योनि सफा गर्न प्रयोग हुने डुसले पनि योनिलाई सुख्खा बनाउन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन । महिलाको योनि जीवाणुरहित हुनुपर्छ भन्ने सोच वास्तवमा ठीक छैन । आवश्यकताभन्दा बढी सफा राख्ने चेष्टाले एकातिर योनिलाई संक्रमित गर्न सक्छ भने अर्कातिर सुख्खा हुने समस्यालाई पनि बल्झाउन सक्छ । त्यसबाहेक क्यान्सरको उपचारका क्रममा प्रयोग हुने केमोथेरापी वा रेडियोथेरापी जस्ता औषधीका कारणले पनि योनि सुख्खा हुन्छ ।



समाधान के ?

मुख्य कुरा महिलामा पर्याप्त योनिरस आउन यौन उत्तेजना आउनुपर्‍यो । दुवै जना प्राक्क्रीडामा पर्याप्त मात्रामा संलग्न रहेपछि मात्र यौनसम्पर्कको सुरुवात गरियो भने पर्याप्त फाइदा हुनसक्छ । कुनै औषधीको प्रयोग गरिरहेको स्थितिमा त्यसको प्रभाव हो कि भनेर विचार गर्नुपर्ने हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारण यस्तो हुन गएको हो र पर्याप्त मात्रामा योनिरस निस्किन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यस्ता चिल्लो पदार्थले हाम्रा शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ ९प्(थ् वभििथ० प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गरेका हुन्छन् ।

यौनसम्पर्क गर्दा महिला तयार रहेको पक्का गर्न सक्दा पनि राम्रै हुन्छ । पारिवारिक तनाव तथा कार्यबोझ कम गर्नेतर्फ पनि लाग्नुपर्छ । आफ्नै यस्ता प्रयासले सुधार नआएको स्थितिमा विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने हुनसक्छ । यस्ता समस्याको उपचारका लागि समय, धैर्य एवं आपसी सहयोगको आवश्यकता पर्छ ।